Rule 66
साझेदारी वनमा गर्न नहुने कार्य
(१) साझेदारी वनभित्र ऐन, यस नियमावली र स्वीकृत कार्ययोजनाले निषेध गरेका कुनै पनि कार्य गर्नु वा गराउनु हुँदैन।

(२) नेपाल सरकारको स्वीकृति बाहेक साझेदारी वनको जग्गा कसैलाई पनि प्रयोग गर्न दिन हुँदैन।

(३) साझेदारी वन उपभोक्ता समूहले साझेदारी वनभित्र कुनै पनि प्रकारको अतिक्रमण हुन नदिने व्यवस्था मिलाउनु पर्नेछ र अतिक्रमण भएको क्षेत्र डिभिजन वन कार्यालयको समन्वयमा तत्काल हटाउनु पर्नेछ।

(४) कुनै साझेदारी वन उपभोक्ता समूह वा नियम ५७ बमोजिमको साझेदारी वन व्यवस्थापन समितिले स्वीकृत कार्ययोजना बमोजिम कार्य सञ्चालन गर्न नसकेमा, त्यस्तो कार्ययोजना विपरीतको कार्य गरेमा, वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने कुनै कार्य गरेमा वा ऐन र यस नियमावली बमोजिम तोकेका सर्त पालना नगरेमा प्रदेश वन निर्देशकले सो विषयमा जाँचबुझ गरी त्यस्तो समूह वा समिति विघटन गर्न सक्नेछ ।

(५) (उपनियम (४) बमोजिम साझेदारी वन उपभोक्ता समूह वा साझेदारी वन व्यवस्थापन समिति विघटन गर्नु अघि त्यस्तो समूह वा समितिलाई पन्ध्र दिनको म्याद दिई स्पष्टीकरण माग गर्नु पर्नेछ ।

(६) उपनियम (४) बमोजिम साझेदारी वन उपभोक्ता समूह विघटन भएमा डिभिजनल वन अधिकृतले अर्को उपभोक्ता समूह गठन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(७) उपनियम (४) बमोजिम साझेदारी वन व्यवस्थापन समिति विघटन भएमा डिभिजनल वन अधिकृतले साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष परिवर्तन गर्न लगाई साझेदारी वन व्यवस्थापन समिति गठन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।